कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माणको सम्भावना बढ्यो

Technology Khabar ८ भाद्र २०७१, आईतवार

कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माणको सम्भावना बढ्यो

काठमाडौं ।

काठमाडौं, ८ भदौ । निजीक्षेत्रले बनाउन लागेको काठमाडौं-कुलेखानी-हेटौडा सुरुङमार्गका लागि तीन क्यानेडियन कम्पनीले २ सय ८० मिलियन अमेरिकी डलर ऋण दिने भएका छन् । यो सँगै कुलेखानी—हेटौडा सुरुङ मार्ग निर्माण हुने सम्भावना बढेको छ । तीनओटा क्यानेडियन कम्पनीले करिब रू. २७ अर्ब (२ सय ८० मिलियन अमेरिकी डलर) ऋण लगानी उपलब्ध गराउन सैद्धान्तिक सहमति गरेपछि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) ले बनाउने उक्त आयोजना निर्माणको सम्भावना बढेको हो ।

काठमाडौंमा शनिवार आयोजित पत्रकार सम्मेलनमा ऋण सहयोग सम्बन्धी सहमतिमा सुरुङ मार्ग निर्माण कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) को तर्फबाट अध्यक्ष कुशकुमार जोशी र क्यानेडियन कम्पनीहरू इन्फ्राब्यांक्स कर्पोरेशन, शेज ग्लोबल क्यानाडा र ग्लोबल फाइनान्सियल एशोसियट्स क्यानाडाका प्रतिनिधिहरूले हस्ताक्षर गरे ।

म्पनीहरूले उपलब्ध गराउने ऋण कम्तिमा १५ वर्षमा फिर्ता गर्ने गरी उक्त सहमति भएको हो । यो निजी क्षेत्रले अहिलेसम्म लिएको सबैभन्दा ठूलो लगानी ऋण सहयोग हो । तर, योजना सम्पन्न भएको साढे आठ वर्षमा सबै ऋण चुक्तागर्ने योजना राखेको अध्यक्ष जोशीले बताए । स्थानीय लगानीकर्ताको लगानीबाट उठेको मुनाफाबाट ऋण तिरिनेछ । त्यसैगरी ऋण लगानी सम्बन्धी विस्तृत सम्झौता तीन महिनाभित्र भइसक्ने अध्यक्ष जोशीले जानकारी दिए । उक्त सहमतीका साथमा ऋणदाता कम्पनिहरुले प्राविधिक विवरण प्रतिवेदन अन्तिम चरणमा पुर्याएका छन भने वित्तिय विवरण प्रतिवेदन तयार पार्न शुरु गरिसकेका छन् । आयोजना निर्माणका लागि क्यानेडियन कन्ट्रक्सन कम्पनिले निर्माणको नेतृत्व गर्नेछ भने नेपाली निर्माण कम्पनिहरुले स्थानिय निर्माणको जिम्मा लिने बताईएको छ ।

कुल ३५ अर्ब रुपैंयाँ लगानी आवश्यक रहेको सुरूङ मार्गकोलागि २ अर्ब यसअघि नै जुटिसकेको छ । शुरूङमार्ग निर्माणको काम भने ६ महिनाभित्र शुरू गरिने एनपीबीसीएलले जानकारी दिएको छ । हाल उक्त ऋण रकम कति प्रतिशत ब्याजमा उलपब्ध हुन्छ भन्ने निश्चित नभएको तर २ प्रतिशतको हाराहारीमा जाने अध्यक्ष जोशीले स्पष्ट पारे । कम्पनिले उक्त ऋणको लागि आयोजनाको लाइसेन्स अर्थात परियोजना नै धरौटी हुने र त्यसको लागि कुनै थप अन्य धरौटी आवश्यक नभएको जानकारी दिएको छ ।

काठमाडौंबाट कुलेखानी हुँदै हेटौडानिकाल्न लागिएको सुरुङ मार्ग ५८ किलोमिटर लामो छ । यो मार्ग प्रयोग गरेर हेटौडा पुग्न ६० किलोमिटर प्रतिघण्टाको दरले सवारीसाधन चलाउँदा झण्डै एकघण्टा लाग्छ । ५८ किलोमिटर लामो सडकमा तीन किलोमिटर मात्र सुरुङ मार्ग पर्छ। सिस्नेरी-भीमभेदीको बीचमा सुरुङ बन्नेछ, जुन  बनाउन ९ अर्ब लाग्ने अनुमान छ । बाँकी रकमचाहिँ सडक विस्तार, निर्माण र मर्मतमा खर्च हुनेछ।

easy care

प्रकाशित: ८ भाद्र २०७१, आईतवार