Technology Khabar ३० श्रावण २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ३० साउन । अर्थमन्त्री डा रामशरण महतले समयमा ऋणको सावाँ तथा ब्याज भुक्तानी गरिरहेको नेपाललाई अनुदान कटौती गर्ने एसियाली विकास बैंकको निर्णय ठीक नभएको भन्दै अनुदानलाई निरन्तरता दिनुपर्ने कुरा बताएका छन् । अर्थमन्त्री डा महतले बैंकका उपाध्यक्ष वेनकाई चाङसँग अर्थमन्त्रालयमा भएको भेटघाटका क्रममा सो कुरा बताएका हुन् ।
बैंकको लगानीमा सञ्चालित आयोजनाहरुको प्रगतिलाई नजिकबाट अवलोकन गर्न र नेपाललाई दिदै आएको समग्र सहयोगको मूल्यांकन गर्न बैंकका उपाध्यक्ष चाङसँग अहिले काठमाडौं नेपाल भ्रमणमा रहेका छन् । अर्थमन्त्री डा महतले भने, ‘राम्रो काम गरेकोमा बैंकले प्रोत्साहन गर्नुपर्नेमा अनुदान कटौती गरेर हामीलाई हतोत्साहित गरेको महसूस भएको छ । नेपाल अल्पविकसित मुलुक भएको र हिंसात्मक द्वन्द्वबाट भरखरै मात्र पार पाउँदै गरेकोले यस्तो अवस्थामा बैंकले नेपाललाई दिने गरेको अनुदान कटौती गर्नु हुँदैन । नेपालको संवेदनशीलता बुझिदिनुपर्छ ।’
यसै प्रसंगमा उनले कार्यसम्पादनका आधारमा सहयोग रकम निकासा गर्ने बैंकको अवधारणा राम्रो भएपनि नेपाल जस्तो हिंसात्मक द्वन्द्वबाट शान्तितिर उन्मुख मुलुकलाई यस अवधारणाको कडा सीमाभित्र नराख्न र केही लचिलो हुन पनि आग्रह गरे । अर्थमन्त्री डा महतले गरिवीबाट जनतालाई माथि उकास्न, ग्रामीण क्षेत्रमा पूर्वाधारका परियोजनाहरु लैजान, गाउँ गाउँमा सडक, खानेपानी, बिद्युत पुर्याउन, वातावरण संरक्षणको क्षेत्रमा काम गर्न बैंकले अझै पनि नेपाललाई अनुदान सहयोग गर्न आवश्यक भएको बताए ।
अर्थमन्त्री डा महतले बैंकका अध्यक्षसँग भएको कुराकानीका क्रममा पनि आफूले अनुदान कटौती नहुने आश्वासन पाएको स्मरण गराएका थिए ।
उनको भनाई थियो, ‘एसियाली देशहरुको आर्थिक विकास तथा गरिबी घटाउने दिशामा बैंकले अगुवाई गरेको छ । यो अत्यन्तै सकारात्मक कुरा हो । तर नेपाललाई दिदै आएको कतिपय सहयोग रोकिएको छ । नेपालको संवेदनशीलतालाई दृष्टिगत गरी सदाशयताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता छ ।’
अर्थमन्त्री डा महतले नेपाललाई आगामी २०२२ सम्ममा स्तरोन्नति गरी विकासशील मुलुकको कोटीमा पुर्याउने लक्ष्य राखिएको उल्लेख गर्दै भने, ‘यसका लागि नेपाललाई ठूलो सहयोगको खाँचो रहेको छ । बैंकले अन्य क्षेत्रमा खर्च हुन नसकेको स्रोत तथा साधनलाई खिचेर भएपनि नेपाललाई सहयोग गर्नुपर्ने खाँचो महसूस गरिएको छ ।’
बैंकले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न गरेको आग्रहलाई सकारात्मकरुपमा लिदै उनले भने, यसमा हामी बैंकलाई पूर्ण सहयोग गर्न तयार छौं । यसअघि नै आईएफसीलाई यस्तो स्वीकृति दिइसकिएको छ ।
सो अवसरमा बैंकका उपाध्यक्ष चाङले नेपालले आर्थिक सुधार कार्यक्रमलाई अगाडि बढाइरहेकोमा खुसी प्रकट गर्दै भने, आर्थिक सुधार कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि जस्तोसुकै सहयोग गर्न बैंक तयार रहेको छ ।
उनले नेपाललाई अनुदानको आवश्यकता रहेकोमा आफू सहमत भएको जानकारी दिदै अध्यक्षलाई सहमत गराउन प्रयास गर्ने आश्वासन दिए । उनले आगामी सन् २०२२ सम्ममा विकासशील मुलुकको दाँजोमा पुग्नका लागि आर्थिक सुधार कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष चाङले नेपालको पूर्वाधारको विकासका लागि बैंकले सहयोग गर्ने जानकारी पनि दिए । बैंकले पनि स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने भएको छ र सरकारसँग अनुमति मागिरहेको छ । बैंकका अध्यक्षलाई अनुकूल समयमा नेपाल भ्रमणको निम्तो दिएकोमा धन्यवाद दिदै उपाध्यक्ष चाङले सन्देश पुर्याइदिने र नेपाल भ्रमणमा आउन सक्ने उल्लेख गरे । भेटघाटका अवसरमा अर्थमन्त्रालयका निमित्त सचिव राजन खनाल, सहसचिव मधु मारासिनी, बैंकका उच्च पदाधिकारीहरुको सहभागिता थियो । बैंकले नेपालको उर्जा, सडक, शिक्षा, कृषि, खानेपानी, पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । हालै नेपाललाई सहयोग गर्न पाँच बर्षे सहायता रणनीति पारित गरी कार्यान्वयनमा ल्याएको छ ।
प्रकाशित: ३० श्रावण २०७१, शुक्रबार