Technology Khabar २१ श्रावण २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, २१साउन । एनसेलले आफ्नो फेसबुक प्याकमा थप सुविधा प्रदान गर्दैनयाँ अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले अब विद्यमान मूल्यमै दोब्बर डेटा प्राप्त गर्दै करबाहेक २५ पैसा प्रति एमबीमा मोबाइलमा फेसबुक चलाउन सक्नेछन् ।
एनसेलले ओपेरा सफ्टवेयरसँग पनिसह-ब्रान्डिङ्ग अफरका लागि साझेदारी गरेको छ, जसले गर्दा अब मोवाइलमा ओपेरा ब्राउजर भएका ग्राहकले समेत यस अफरमा भाग लिई लाभ लिन सक्नेछन् ।
‘आफ्नो ग्राहकलाई उत्कृष्ट डेटा अनुभव गराउने प्रतिवद्धता अनुरुप हामीले ओपेरा सफ्टवेयरसँग सम्झौता गरेका छौं । यसको विश्वसनीय प्रविधिमार्फत ग्राहकले सहजरुपमा उत्कृष्ट इन्टरनेट अनुभव तथा हाम्रा अफरका लाभहरु प्राप्त गर्नेछन्’ एनसेलकी कर्पोरेट कम्युनिकेशन्स निर्देशक सञ्जु कोइरालाले भनिन् ।
ओपेरा मिनीमा डेटा वचत गर्ने विशिष्ट प्रविधि रहेको छ, जसले वेब पेजहरुलाई ९० प्रतिशतसम्म संकुचन गराई मोवाइलमा इन्टरनेटको अनुभव राम्रो बनाउँछ । जाभा, एन्ड्रोइड तथा आइओएस लगायतका मोवाइल प्लेटर्फममा काम यसले गर्दछ ।
यी विशेषताले गर्दा नेपालमा ओपेराको प्रवेशले डेटा प्रयोगकर्तालाई थप इन्टरनेट चलाउन प्रेरित गर्ने विश्वास ओपेरा सफ्टवेयरका दक्षिण एशिया हेर्ने उपाध्यक्ष सुनिल कामथले व्यक्त गरे ।
अन्य ब्राउजर लगायत ओपेरा मिनि प्रयोगकर्ताले पनि लाभ लिन सक्ने नयाँ फेसबुक प्याकमा पहिलाकै मूल्यमा ग्राहकले अब दैनिक प्याकमा १० एमबीको सट्टा २० एमबी, साप्ताहिक प्याकमा ७० एमबीको सट्टा १४० एमबी र मासिक प्याकमा ३०० एमबीको सट्टा ६०० एमबी डेटाप्राप्त गर्ने कम्पनीले जनाएको छ । दैनिक, साप्ताहिक तथा मासिक प्याकको मूल्य कर वाहेक क्रमशः रु ९, रु ४९ र रु १४९ रहेको छ ।
प्याकको अवधि भित्र प्राप्त डेटा भल्युम सकिएमा ग्राहकले उक्त अवधिभरि कर वाहेक ९९ पैसा प्रति एमबीको दरमा फेसबुक चलाउन सक्नेछन् ।
मोबाइलमा मात्र लागु हुने यी फेसबुक प्याकहरु यहि साउन २१ गतेबाट ३० दिनसम्म लागु हुनेछ । फेसबुक प्याकबाट ग्राहकले स्टाटस अपडेट गर्न, कुराकानी गर्न, तस्विर तथा भिडियो अपलोड गर्न, ‘लाईक तथा कमेन्ट’ गर्न र फेसबुक भित्रै रहेको भिडियो हेर्न सक्नेछन् । फेसबुकबाट अर्को एप्लिकेशन वा साइटमा गएमा (फेसबुकमै रहेका विभिन्न लिंकमा क्लिक गर्दा यस्तो हुन सक्छ) भने एनसेलको नियमित इन्टरनेट शुल्क लागु हुनेछ।
ग्राहकले १७११५ डायल गरि यी फेसबुक प्याक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक पटकको लागि वा स्वतः नविकरण हुने दुई तरिकाबाट प्याक खरिद गर्न सकिनेछ ।
फेसबुक नेपालमा निकै प्रचलित सामाजिक सञ्जाल हो । ‘नयाँ योजनाले हाम्रा ग्राहकलाई अझ सुलभ दरमा आफ्ना निकटजनहरुसँग सम्स्पर्शित रहन र आफ्ना विचारहरु अभिव्यक्त गर्ने अवसरप्रदान गर्नेछ’ कोइरालाले भनिन् ।
प्रकाशित: २१ श्रावण २०७१, बुधबार